चुनौती देखेर आत्तिनु र हतास हुनु पर्दैन : ईश्वर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि आफूहरुको देश बनाउने इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो चुनौती देखेर आत्तिनु र हतास हुनु पर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडि बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’ उनले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गरे ।
एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरे । ‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौँ । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना गर्यौँ । ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगसँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले खडा समेत गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रुपमा अगाडि आइपुगेको हो’, पोखरेलले भने ।
यो संविधान कसैले दान गरेको दिएको उपहार नभएर नेपाली जनताले वर्षौँ संघर्षपश्चात पाएको उपलब्धि रहेको समेत उनले बताए । संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्याउन नेपालीले गरेको संकल्पको दिवस रहेको समेत उनको भनाई छ । ‘जस्तोसुकै परिस्थिति आए पनि हामी यो राष्ट्रिय दिवसमा एकता भएर अगाडी बढ्छौँ’, उनले भने ।