ओलीको प्रश्न : पासपोर्ट रोक्ने रे, यो ‘हाहुँ’ सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरेका छन् ।सत्ताच्युतपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको आरोप लगाएका छन् ।
उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दैनौं । हामी सबै पारदर्शी ढङ्गबाट गर्छौ ।’
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरेका छन् । उनले भने, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दैछु । के ठानेको छ । यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौं ? हामीले यो देश बनाउनु पर्नेछ । फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं ।’
अध्यक्ष ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन् ।
उनले सुशासन र विकासमा एमालेले ध्यान केन्द्रित गरेको उल्लेख गरे । उनले मनमोहनको पालादेखि २०७४ र अहिले पनि सरकारमा जाँदा धेरै राम्रा काम गरेको बताए । पूर्व प्रधानमन्त्री ओलीले भ्रष्टाचार उन्मूलन नभए पनि आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे । उनले जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरामा सदैव जोड दिएको बताए । उनले देशभक्ति र देशको पक्षमा बोल्दा झोले भन्ने ट्रेन चलाइएको भन्दै आपत्ति जनाए । उनले राष्ट्रको हितको पक्षमा उभिदा विरोधीहरु सल्बलाएको धारणा राखे ।