सुशीला कार्कीको सरकारलाई संविधानले चिन्दैन : एमाले नेता दाहाल


झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने बताएका छन् । असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसांस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा उनले यस्तो बताएका हुन् ।
‘लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो ?,’ दाहालले प्रश्न गरे, ‘सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा सरकार बनाउन संविधानको कुन धाराले अनुमति दिन्छ ? अनि, त्यसरी बनेको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन ?’
वर्तमान सरकारका मन्त्रीहरूका अभिव्यक्ति निर्वाचन नगराउने तर्फ उद्यत रहेको भन्दै उनले सरकारका गतिविधिलाई नेकपा एमालेले नजिकबाट नियालिरहेको जिकिर गरे । २३ र २४ भदौमा जेनजीका नाममा विध्वंस गराइएको भन्दै उनले यस घटनाले राज्यलाई कमजोर बनाएको बताए । उनले नेपालको राजनीतिक इतिहासमा कलंकका रूपमा यो घटना चित्रण भएको पनि जिकिर गरे । उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरूले शुभकामना आदान–प्रदान गरेका थिए ।