गुण्डुबाट एमालेले घोषणा गर्यो ‘युथ भोलेन्टियर फोर्स’ (तस्वीरहरु)
काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको विशेष भेला राखिएको हो । भेलामा एमाले अध्यक्ष ओलीसहित ओली पत्नी शाक्य यस्तै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेता देखिएका छन् ।
जेन–जी आन्दोलनपछि पार्टीका नेता महेश बस्नेत र युवा संघको सुरक्षामा ओली दम्पती रहँदै आएका छन् । युथ भोलेन्टियरको घोषणाले नेकपा एमालेको युवा दस्ता पार्टीका लागि रक्षात्मक र आक्रमक रुपमा अघि बढ्ने देखिएको छ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले फोर्सको केही आचार संहिता पनि बनाइएको बताए । उनले भने, ‘आगामी दिनमा ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायत जिल्लामा पनि विस्तार गर्ने योजना छ ।’
यस फोर्सले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरसँग समन्वय गर्दै नेताहरूको सुरक्षा र अराजकता नियन्त्रणमा काम गर्नेछ । बस्नेतले विगतमा युथ फोर्सको सक्रियताले माओवादीको आतंक हटाएको अनुभवलाई स्मरण गर्दै, वर्तमानमा पनि यस्ता गतिविधिमा निरन्तरता दिने दाबी गरे ।

