`

योगेश भट्टराईद्वारा एकताका चार आधार प्रस्तुत, ओलीको आह्वानलाई गरे समर्थन

Nepal One HD १५ कार्तिक २०८२ १०:५४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेताहरूप्रति मूल घर फर्कन आह्वान गरेको प्रसंगलाई स्वागत गर्दै यो समयानुकूल र सान्दर्भिक भएको बताएका छन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले निषेध, प्रतिशोध र घृणाको राजनीति त्यागेर सहकार्य र सहअस्तित्वको बाटोबाट एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको राष्ट्रिय आवश्यकता वाम आन्दोलनलाई जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा एकताबद्ध बनाउनु हो ।

भट्टराईले भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र बन्नै पर्छ, त्यो एमाले हो ।’

एकताको दिशामा अघि बढ्न उनले चार आधार समेत प्रस्तुत गरेका छन् । ती हुनु–जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नु, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई मान्यता दिनु, २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी पार्टीको पुनर्गठन गर्नु र नेकपा एमालेको नेतृत्वमा आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नु । ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौं,’ भट्टराईले लेखेका छन् ।

चार वर्ष अघि एमालेबाट विभाजित बनेको एकीकृत समाजवादी माओवादीसँग एकताको निर्णयमा पुगेको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरुले असहमति जनाउँदै आएका छन् । शुक्रबार एकीकृत समाजवादीले यस्तो निर्णय गर्दा विवाद उत्पन्न हुँदै गर्दा एमाले अध्यक्ष ओलीले घर फर्कन आह्वान गरेका थिए ।

योगेश भट्टराईले एकताका लागि प्रस्तुत गरेका चार आधार :
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
–पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
–२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
–नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *