एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक यही कात्तिक १५ गते बस्ने पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने उनले जानकारी दिए । गत असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरिसकेको छ ।
सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिबारे निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ ।
बैठकमा महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल हुनेछ । पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ गतेको विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिए ।
