`

फागुन २१ को निर्वाचन ‘हनी ट्रयापिङ’ : बादल

Nepal One HD २९ कार्तिक २०८२ १७:१३
नेकपा एमाले

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन मूलतः ‘हनी ट्रयापिङ’ शैलीको राजनीतिक जाल र प्रतिक्रान्तिलाई वैधता दिन रचिएको षड्यन्त्र मात्र भएको आरोप लगाएका छन् । एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभामा बोल्दै उनले सुशीला कार्की नेतृत्वको सरकारले प्रतिक्रान्तिलाई वैधता दिन निर्वाचनको नाटक रचेको दाबी गरे ।

बादलका अनुसार भदौ २३ र २४ गतेका घटनालाई वैधता दिन र स्थापित दलका शीर्ष नेताहरूलाई कमजोर पारेर निर्वाचनमा धकेल्न विभिन्न योजनाहरू तयार पारिएका छन् । उनले संविधानले निषेध गरेको पात्रलाई विदेशी शक्तिको संकेतमा प्रधानमन्त्री बनाइएको र त्यसैका आधारमा दलहरूलाई फसाउने प्रयास भएको आरोप लगाए ।

उनले भने, ‘स्थापित दलका नेताहरूलाई चुनावमा भाग लिन नदिए विदेशी शक्तिले कार्की सरकारलाई पनि हटाउँछ–यस्तो खेल भइरहेको छ।’ उनका अनुसार प्रतिनिधिसभा पुनःस्थापना भई संसदको सार्वभौम निर्णयबाट मात्र निर्वाचन हुनुपर्ने हो, बाह्य शक्तिको प्रभावमा सरकार बनाइेर निर्वाचन घोषणा गर्नु संविधान सम्मत होइन ।

विदेशी हस्तक्षेपबारे चिन्ता व्यक्त गर्दै उनले नेपाललाई सामरिक प्रयोगस्थल बनाउन खोजिएको दाबी गरे । ‘नेपालका स्रोत–साधन कब्जा गर्ने, भारत–चीनमा पृथकतावादी गतिविधि भड्काउने, नेपालमा सैनिक जम्काभेट बिन्दु बनाउने योजना अन्तर्गत भदौ २३–२४ को ‘कलर रिभोलुसन’ रचिएको हो’, बादलले आरोप लगाए । उनले बालेन शाह र रवि लामिछाने जस्ता नयाँ पात्रहरूलाई विदेशी शक्तिले ‘कठपुतली जेलेन्स्की’ बनाउने प्रयास गरिरहेको आरोप लगाए ।

उनका अनुसार स्थापित दलहरू आ–आफूसँगै लागेर यो ‘षड्यन्त्र’ बुझ्न नसके नेपाल विदेशी सैन्य प्रभावको अखडा बन्ने खतरा छ । उनले फागुन २१ को निर्वाचन जनतालाई भुलभुलैया पार्ने प्रयास मात्रै भएको दोहोर्‍याए ।

प्रचण्ड र माधव नेपाल मिलेर बनाएको नयाँ कम्युनिष्ट मोर्चालाई बादलले ‘१० कोठे टहरो’ भनेर व्यंग्य गर्दै उक्त संरचनाले उनीहरूको राजनीतिक ओरालो यात्रालाई रोक्न नसक्ने टिप्पणी गरे । ‘अस्तित्व जोगाउन बनाइएको टहरोले केही असर गर्दैन, मूल घरमा फिर्ता भए मात्र केही सम्भावना हुन्छ’, उनले भने । उनका अनुसार पार्टीले कोर्स सच्याएर फर्किन गरेको अपिल स्वीकार गर्नेहरू बढ्दो क्रममा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *