`

केपी ओली नै अबको अध्यक्ष, त्यसमा कुनै शंका छैन : खगराज अधिकारी

Nepal One HD २७ कार्तिक २०८२ १३:३२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आउँदो महाधिवेशनबाट केपी शर्मा ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउने विषयमा कुनै शंका नरहेको दावी गरेका छन् । बिहीबार धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा, व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन । त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ ।’

असंवैधानिक बाटोबाट बनेको वर्तमान सरकारले जनादेश लिन नचाहेको उनले जिकिर गरे । एमाले चुनावसँग नडराएको समेत उनले बताए । अधिकारीले भने, ‘यो सरकारले चुनाव पनि गराउँदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरणजस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।’

सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा जेनजीले भदौ २३ गते गरेको शान्तिपूर्ण आन्दोलन ‘हाइज्याक’ गरिएको उनले बताए । साथै एमाले छाडेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका विषयमा उनले त्यसले आफ्नो पार्टीलाई कुनै क्षति नगर्ने बताए । रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालेले नोक्सानी व्यहोरिसकेकाले थप क्षति नहुने उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *