माधव नेपालले माओवादीमा लगेर पार्टी विसर्जन गरे : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विभाजन गरेर बनेको पार्टीलाई माधव नेपालले माओवादीमा लगेर विसर्जन गराएको आरोप लगाएका छन् । नेपालले जबजलाई कमजोर बनाउन खोजेको पोखरेलको आरोप छ । नेकपा एमालेले चलाएको ‘घर फर्क अभियान’लाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जस्तै पार्टी बनाउने भनेर नेपालले पार्टी माओवादीमा लगेर विसर्जन गर्ने काम गरेको आरोप लगाएका हुन् ।
‘एमालेबाट अलग भएको पार्टी माओवादी पार्टीमा विसर्जनको रूपमा अन्त्य भएको छ । माधव नेपालको पछि लागेर नेपालको कम्युनिस्ट आन्दोलन र जबजलाई कमजोर पार्न खोजिएको छ’, पोखरेलले भने । पोखरेलले भदौ २३–२४ को घटनाविरुद्ध एमालेले मात्र सही अडान लिएको दाबी पनि गरे । ‘विगतमा पनि गलत मान्यताको विरुद्धमा सही मार्गमा डोर्याउने काम केपी ओलीले गर्नुभएको थियो’, उनले भने, ‘माओवादी लडाकूको त्रास रहेको बेला युथफोर्सका माध्यमबाट समाजमा उत्पन्न भय त्रास अन्त्य गरेर समाजमा सुरक्षाको वातावरण बनाउने काम गरेका थियौं ।’ कार्यक्रममा नेकपा एस परित्याग गरेकी रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेताहरू एमालेमा फर्केका छन् ।
