वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् । आज (आइतबार) गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् ।
उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनु पर्छ भन्ने पक्षमा रहेको बताए । उनले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पारे । उनले यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताए । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ ? उनको प्रश्न छ ।
उनले भने, ‘कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले । भनिरहनु पर्छ र भन्या ? देशका सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनु पर्छ र ? गर्ने नै होइन नि । चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ । तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन् । यस्तो सरकार । असंवैधानिक सरकार । योसँग चुनाव गराउने केको हक छ ? हक नै छैन । यो अनधिकृत हो । त्यसकारण यस्तो अनधिकृत । अनुभव बिहीन छ । हामी सबैले सबैका लागि विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ । मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनु पर्छ ।’ अध्यक्ष ओलीले सबैले तत्काल विद्धटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताए ।
