`

एमाले कार्यकर्तालाई आउन नदिन माइतीघर पुगे जेनजी घाइते

Nepal One HD ५ मंसिर २०८२ ११:४०
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेनजी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताएका छन् । एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् । अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ । माइतीघर मण्डलामा भेला भएर एमाले युवाहरूले बानेश्वरसम्म मार्चपास गर्ने बताइएको छ । सोही कार्यक्रमका क्रममा एनभिएफको औपचारिक घोषणा गर्न लागिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एनभिएफको घोषणा गर्नेछन् । एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको पहलमा करिब १५ दिनअघि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको संयोजन पोलिटब्यूरो सदस्य महेश बस्नेतले गरेका थिए । कार्यदलले विधान, लोगो, झण्डा, संगठन संरचना, उद्देश्य तथा भविष्यका कार्यक्रमसमेत तयार पारेर फोर्स निर्माण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *