`

एमाले जेनजी पुस्ताको रियल लिडर हो : विष्णु पौडेल

Nepal One HD १७ मंसिर २०८२ १४:३८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमाले जेनजीको जायज आकांक्षा र अपेक्षाकाविरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे । एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको उनको भनाई थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरुको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे ।

उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेनजीका मागका विरुद्धमा, उनीहरुका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु ।’ उनले भने, ‘जहाँसम्म भदौ २३, २४ को सन्दर्भ छ । २३ गते जेनजीहरु जुन माग र मुद्दामा आएका थिए । उनीहरुले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौैं । सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरुको माग हो । सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेनजीहरुले माग राखेका होइनन् । उनीहरुको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनु पर्छ भन्ने थियो । यो नितान्त जायज माग थियो उनीहरुको ।’ उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन् । उनले एमालेलाई अधिनायकवादी र निरंकुश छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन । हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौं । अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौं । नीतिको महाधिवेशन गरिसक्यौं ।’ उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए । उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नु भयो, म मात्रै बोल्छु भन्नु भयो भन्ने खालको कुराको सान्दर्भिकता छैन ।’

उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्वहिन ठानेको बताए । आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए । उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन । मेरो ट्रयाक रेकर्ड हेर्दा हुन्छ । मलाई यो चिज चाहियो भनेको छैन । त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ । मलाई किङमेकर भनेर तपाईहरूले बोक्न नसक्ने तक्मा दिनुभयो । मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस् ।’ उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए । अहिले एमालेभित्र कुनै संकट नरहेको बताए । पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे । ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुङ्गिने उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *