कुलमान, बालेन र सुदनलाई तत्काल पक्राउ गर्न महेश बस्नेतको माग
धनगढी । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा पुगेका बस्नेतले यस्तो माग गरेका हुन् ।
‘..जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउन युवाहरूप्रति कुनै आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर कार्यक्रमस्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खालि गरेपछि तिनीहरू हटेका छन् ।’ त्यसका लागि प्रहरी प्रशासनलाई धन्यवाद दिए ।
‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन,’ बस्नेतले भने । जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्नेहरूले एमालेको कार्यक्रममा बाधा पुर्याउन षडयन्त्र गरिरहेको उनले बताए । उनले अगाडि भने, ‘हाम्रो कार्यक्रममा बाधा पुर्याउन षडयन्त्र गने बालेन कुलमान घिसिङ, सुधन गुरुङ हुन् । यिनलाई पक्राउ गरेर छानबिन गर्नै पर्छ ।’
बस्नेत धनगढी पुगेपछि युवासंघ र जेनजीबीच झडप
एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी र युवा संघका नेता–कार्यकर्ताबीच झडप भएको छ । बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए । बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए । स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेका थिए । युवासंघको प्रतिकारमा जेनजी सरिता जोशी घाइते भएकी छन् । उनको हातमा चोट लागेको छ । सरिताको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी आएका हुन् । उनी आउने भएपछि जेनजी युवाहरूले धनगढीको सडकमा प्लेकार्डसहित विरोध सुरु गरेका थिए । उनीहरूले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलवाड गर्न पाइँदैन जस्ता नारासहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । नेता बस्नेतको सुरक्षा र जेनजीको विरोध प्रदर्शनलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरूले सोही मार्गको जेनजी चोकमा प्रदर्शन गरिरहेका छन् ।
