ओलीको टिमबाट शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने
काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् । महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको बताए । उनले सुनाए, ‘मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकाले मैले दाबी गरेको हुँ । अध्यक्षसँग पनि कुरा गरिसकेको छु ।’
उनले पार्टीभित्र यो वा त्यो समूह भन्दै प्रचार भइरहेकाले अध्यक्षले पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न ढोका खुला गरिसकेको जिकिर गरेका छन् । तपाईको उम्मेदवारी उपमहासचिवमा नै रहन्छ कि दाबी मात्रै हो भन्ने जिज्ञासामा उनले थपे, ‘मैले अहिले उपमहासचिव नै भनेको छु, अब हेरौं महाधिवेशनसम्म के हुन्छ ।’ सिन्धुपाल्चोक घर भएका तामाङ मन्त्री समेत भइसकेका छन् ।
