महेशलाई सचिव ‘पुरस्कार’, भानुभक्तको पहिलोपल्टै उपमहासचिवमा ‘छलाङ’
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी उम्मेदवारहरूको सूची लगभग टुंग्याएका छन् । यसक्रममा ओलीका विश्वास पात्र मानिने दुई नेताको नाम चर्चामा आएको छ-पोलिटब्युरो सदस्य महेश बस्नेत सचिव पदका उम्मेदवार र स्थायी कमिटी सदस्य भानुभक्त ढकाल उपमहासचिव पदका उम्मेदवार बन्दै छन् ।
१०औँ महाधिवेशनमा पोलिटब्युरो सदस्य निर्वाचित भएका महेश बस्नेतलाई यस पटक सचिव पदमा अघि सारिएको हो । पार्टीभित्र ओलीप्रति निष्ठावान नेताका रूपमा चिनिने बस्नेतले जेनजी आन्दोलनपछि सत्ताच्युत भएका बेला ओलीको सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा छ ।भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि करिब एक साता सेनाको सुरक्षा घेरामा रहेका ओलीलाई सुरक्षित रूपमा भक्तपुरको गुण्डु पुर्याउनेदेखि त्यहीँ कुटी निर्माणको व्यवस्था मिलाउनेसम्मको जिम्मेवारी बस्नेतले सम्हालेको बताइन्छ । यही कारण ओलीले ‘गुन तिरेको’ चर्चा एमाले वृत्तमा चल्न थालेको छ ।
यता, अहिलेसम्म एमालेको कुनै पनि पदाधिकारी नभएका भानुभक्त ढकाल एकै पटक उपमहासचिव पदका उम्मेदवार बन्ने भएका छन् । स्थायी कमिटी सदस्य रहेका ढकाल अध्यक्ष ओलीका निकटतम सहयोगीमध्ये एक मानिन्छन् । ओली नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री समेत भइसकेका थिए । हाल उनी ११औं महाधिवेशनको स्वयंसेवक परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन् ।
पार्टीभित्र लामो समयदेखि पदाधिकारी बन्ने प्रतीक्षामा रहेका नेताहरूबीच असन्तुष्टि देखिन सक्ने अनुमान गरिए पनि ओलीले आफ्नो भरोसाको घेरालाई प्राथमिकतामा राखेको संकेत यी निर्णयले दिएको विश्लेषण भइरहेको छ । पुस १ गते हुने महाधिवेशनको निर्वाचनले यी उम्मेदवारहरूको राजनीतिक भविष्य मात्र होइन, एमालेको भावी शक्ति सन्तुलन समेत तय गर्ने देखिन्छ ।
