`

ओली र पोखरेल दुबै समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, को–को परे ?

Nepal One HD २९ मंसिर २०८२ ११:३६
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दुबै पक्षले उम्मेदवारको सूची लगभग टुंगो लगाएका छन् । महाधिवेशनका लागि अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।

उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो । ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि ईश्वर पोखरेल पक्षले पनि उम्मेदवारको सूची लगभग टुंगो लगाएको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्म चलेको समूहको आन्तरिक छलफलपछि पदाधिकारीसहित केन्द्रीय समितिका ३०१ सदस्यका लागि उम्मेदवार तय गरिएको नेताहरूले बताएका छन् । यस समूहबाट अध्यक्ष पदमा ईश्वर पोखरेल आफैं प्रतिष्पर्धामा उत्रिने निश्चित भएको छ । महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । उपाध्यक्ष पदमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङ उम्मेदवार बन्ने भएका छन् भने उपमहासचिव पदका लागि योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिवकै सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश गरिएको बताइएको छ ।

सचिव पदमा भने बहुसंख्यक उम्मेदवार अघि सारिएको छ । यस पदका लागि कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटासहित ठाकुर गैरे र पुरुषोत्तम पौडेलको नाम समेत छलफलमा रहेको स्रोतले जनाएको छ । समूहले प्रारम्भिक रूपमा सचिव उम्मेदवारको सूची तयार गरे पनि अन्तिम क्षणसम्म केही नाममा सामान्य हेरफेर हुन सक्ने बताइएको छ । पोखरेल पक्षका नेताहरूका अनुसार पदाधिकारी मात्र होइन, केन्द्रीय समितिका सबै सदस्यका लागि समेत उम्मेदवारको सूची तयार भइसकेको छ । यद्यपि, महाधिवेशनको माहोल र थप राजनीतिक परामर्शका आधारमा केही पदमा उम्मेदवारको नाम तलमाथि हुन सक्ने संकेत पनि नेताहरूले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *