`

बढ्दै एमाले महाधिवेशनको सरगर्मी, १४ सय बढीले लिए मनोनयन फाराम

Nepal One HD २९ मंसिर २०८२ ११:४८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सोमबार बिहान ११ बजेपछि उम्मेदवारी दर्ताका लागि मनोनयन फाराम वितरण सुरु गरिएको हो । महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार सोमबार मध्याह्नसम्म १४ सय बढी मनोनयन फाराम वितरण भइसकेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन फाराम वितरणको समय मध्यान्ह १२ बजेसम्म तोकिएको थियो भने उम्मेदवारहरूले दिउँसो साढे १ बजेसम्म दरखास्त फाराम दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावली प्रकाशनपछि सोही नामावलीमाथि दाबी–विरोध तथा उजुरी दिन दिउँसो साढे २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरीहरूमाथि छानबिन तथा निर्णय दिउँसो ३ः१० बजेसम्म गरिने कार्यतालिका रहेको छ ।

यदि कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा दिउँसो ३ः१० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ । यी सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तिम नामावली प्रकाशनपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशन मंसिर २९ सम्म सञ्चालन हुने तय गरिएको छ । महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा उम्मेदवारी दिन ठूलो संख्यामा नेताहरू अग्रसर देखिएका छन्, जसले पार्टीभित्रको राजनीतिक चासो र प्रतिष्पर्धा दुवैलाई थप तीव्र बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *