एमाले चुनाव : उम्मेदवार बनेकै नेताले गरेनन् मतदान
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा एउटा अनौठो र चासोपूर्ण घटना सार्वजनिक भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार रहेका नेताले नै मतदान प्रक्रियामा भाग नलिएको तथ्य बाहिर आएको हो ।
गुल्मीका राजेन्द्र अर्याल, जो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए, उनले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा देखिएको छ । मतदानमा अनुपस्थित उम्मेदवारको सूचीमा उनको पनि नाम देखिएपछि अर्यालसँग सम्पर्क गर्दा उनले यसलाई ‘नो भोट’ को रूपमा व्याख्या गरे ।
अर्यालले भने, ‘मैले नो भोटको सदुपयोग गरें । नेताहरूले अन्तिम सूचीमा नपारेपछि म पनि घर आएर आराम गरें । कहिलेकाहीँ भोट नहाल्नु पनि एउटा सन्देश हुन्छ।’ प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष रहेका अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत दुवै केन्द्रीय सदस्यका उम्मेदवार थिए । दुवै जना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका भए पनि उनीहरू ओली प्यानलको औपचारिक उम्मेदवार सूचीमा समेटिएका थिएनन् । यही कारण मतदानप्रति उनीहरूको उत्साह कमजोर बनेको नेताहरूको बुझाइ छ ।
पार्टीभित्र प्यानल राजनीति हाबी हुँदै जाँदा योगदान र अनुभवभन्दा पनि गुटीय समीकरण प्राथमिकतामा परेको भन्दै केही नेता असन्तुष्ट देखिएका छन् । उम्मेदवार भएर पनि मतदान नगर्नु पार्टीभित्रको असन्तोष र निराशाको संकेत भएको टिप्पणी समेत सुरु भएको छ । एमालेको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा केन्द्रित रहे पनि यस्ता घटनाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, समावेशिता र प्यानल संस्कृतिमाथि पुनः प्रश्न उठाएको छ ।
