`

एमाले महाधिवेशन : आज अध्यक्ष र दुई आयोगका अध्यक्षको मात्र शपथ

Nepal One HD ३ पुष २०८२ १०:०४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि गणनाको प्रक्रिया अघि बढाइएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतगणना औपचारिक रूपमा सुरु भइसकेको छ । आयोगका अध्यक्ष विजय सुब्बाले विद्युतीय प्रणाली भएकाले दुईदेखि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनका अनुसार अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको परिणाम एकैसाथ सार्वजनिक हुनेछ ।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत खसेका छन् । विभिन्न कारणले ३६ प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन् । मतदान बुधबार बिहान ९ः२० बजे सुरु भई करिब २१ घण्टापछि बिहीबार बिहान ७ बजे सम्पन्न भएको थियो ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै प्यानल बाहिर रहेकाहरूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबीच केन्द्रीय लेखा आयोगका अध्यक्षमा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी निर्विरोध निर्वाचित भइसकेका छन् । नतिजा सार्वजनिक भएपछि आजै पार्टी अध्यक्ष तथा दुई आयोगका अध्यक्षलाई शपथ ग्रहण गराइने निर्वाचन आयोगले जनाएको छ। प्रमाणपत्र वितरण भने आज नहुने र अन्य प्रक्रिया पछि अघि बढाइने बताइएको छ । एमाले महाधिवेशनको सबैभन्दा चासोको विषय बनेको अध्यक्ष पदको नतिजाले पार्टीको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *