`

एमालेको १९ सदस्यीय पदाधिकारी टिममा महिलाबाट अर्याल मात्रै ‘सेफ जोन’ मा

Nepal One HD ३ पुष २०८२ १२:५८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको आगामी १९ सदस्यीय पदाधिकारी टिममा महिला प्रतिनिधित्व अत्यन्तै कमजोर हुने संकेत देखिएको छ । जारी मतगणनाको परिणामअनुसार महिलाबाट पद्मा अर्याल मात्र सुरक्षित अवस्थामा देखिएकी छन् । १९ पदाधिकारी पदका लागि ४२ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या जम्मा चार जनामा सीमित थियो ।

उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलबाट बिन्दा पाण्डे, सचिवमा संस्थापन पक्षबाट पद्मा अर्याल र पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार बनेका थिए भने पेम्बा लामा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिइन्। हालसम्मको परिणामले पाण्डे, खड्का र लामा प्रतिस्पर्धामा पछाडि परेको देखाउँछ। सचिव पदमा उम्मेदवार बनेकी पद्मा अर्याल भने जित नजिक देखिएकी छन् । यसअघिको कार्यकालमा पनि सचिव रहेकी अर्यालले यस पटक लोकप्रिय मत पाइरहेकी छन् । पहिलो स्थानका लागि महेश बस्नेत र छविलाल विश्वकर्मासँग उनको कडा प्रतिस्पर्धा चलिरहेको छ । सचिव पदका अन्य दुई महिला उम्मेदवार रचना खड्का र पेम्बा लामा भने शीर्ष ९ भित्र अटाउन सकेका छैनन् ।

उपाध्यक्ष पदकी उम्मेदवार बिन्दा पाण्डेको अवस्था पनि चुनौतीपूर्ण बनेको छ । ११ जना उम्मेदवारबीचको प्रतिस्पर्धामा उनी हाल आठौं स्थानमा छिन्, जबकि निर्वाचित हुन शीर्ष पाँचभित्र पर्नु अनिवार्य छ । यसअघि एमालेको पदाधिकारी टिममा अष्टलक्ष्मी शाक्य र पद्मा अर्याल गरी दुई महिलाको प्रतिनिधित्व थियो । पुस्तान्तरणको पक्षमा वकालत गर्दै अष्टलक्ष्मी शाक्यले यस महाधिवेशनमा उम्मेदवारी नदिएपछि पार्टी नेतृत्वमा महिला सहभागिता थप खुम्चिने देखिएको हो । मतपरिणाम यही प्रवृत्तिमा गए एमालेको आगामी पदाधिकारी टिममा एक मात्र महिला नेतृका रूपमा पद्मा अर्याल सीमित हुने सम्भावना बलियो बन्दै गएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *