एमाले महाधिवेशन : मतदानको समय थपियो, किन भइरहेको छ ढिलाइ ?
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाभन्दा निकै सुस्त गतिमा अघि बढेपछि मतदानको समय थपिएको छ । सुरुमा साँझ ५ बजेसम्म तोकिएको मतदान समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्याइएको हो ।निर्वाचन आयोगका अनुसार राति ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका प्रतिनिधिले मत हाल्न पाउने व्यवस्था गरिएको छ ।
बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदान साँझ ४ बजेसम्म आइपुग्दा जम्मा एकतिहाइ प्रतिनिधिले मात्रै मत खसाल्न सकेका थिए । एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । सात घण्टामा ७ सय २० मत खसेको हो । यही गतिमा मतदान अघि बढेमा रातभर मतदान चल्दा पनि टुंगिन कठिन हुने आयोगकै पदाधिकारीहरूले बताएका छन् ।
मतदान प्रक्रियामा प्रयोग गरिएको विद्युतीय प्रणालीका कारण एक जना प्रतिनिधिले औसत ३५ देखि ४० मिनेटसम्म समय खर्चिनुपरेको छ । ८० वटा विद्युतीय मेसिन प्रयोगमा रहे पनि मतदाताको लामो समय खर्चिनुपर्ने अवस्थाले समग्र प्रक्रिया सुस्त बनेको हो । मतदान व्यवस्थापनमा संलग्न रामलक्ष्मण इनोभेसन प्रालिका प्रतिनिधिहरूका अनुसार यही गतिमा मतदान सकिन झण्डै २२ घण्टा लाग्ने अनुमान गरिएको छ ।
ढिलाइ हुनुका मुख्य तीन कारण
मतदान किन यति ढिलो भयो भन्ने प्रश्नको जवाफमा निर्वाचन व्यवस्थापन पक्षले तीन प्रमुख कारण औंल्याएको छ ।
पहिलो–महाधिवेशनको अन्तिम समयमा विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाइनु । एमालेले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय समिति २५१ बाट ३०१ पुर्याएपछि भोटिङ मेसिनमा पुनः सेटिङ गर्नुपरेको थियो । उम्मेदवारको नाम र फोटो इन्ट्री गर्न समय लाग्दा मतदान प्रक्रिया स्वाभाविक रूपमा ढिलो भयो ।
दोस्रो–अध्यक्षका दुवै प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै प्यानल अनुसार प्रतिनिधिहरूले नामसूची बोकेर मतदान गर्नुपर्ने अवस्था । कतिपय प्रतिनिधिले एउटै प्यानलमा सीमित नरही फरक–फरक प्यानलका उम्मेदवारलाई मत दिने भएकाले सूची मिलाउन र रूजु गर्न थप समय लागिरहेको छ ।
तेस्रो–यस पटक सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था । अघिल्ला महाधिवेशनमा केही पद खाली छाडेर मतदान गर्न सकिने भए पनि अहिले तोकिएको संख्याभन्दा कम उम्मेदवारलाई मत दिए अर्को समूहमा प्रवेश नै गर्न नपाइने नियम छ । यसले पनि मतदातालाई लामो समय मेसिनअगाडि उभिन बाध्य बनाएको छ ।
यसपालि अपेक्षाकृत धेरै पदमा प्रतिष्पर्धा भएको छ । सुरुमा करिब ३० प्रतिशत पद सर्वसम्मत हुने अनुमान गरिएको भए पनि व्यवहारमा त्यो सम्भव भएन । कतिपय स्थानमा ५ पदका लागि ६ जनासम्म उम्मेदवार भएपछि मतदान प्रक्रिया थप जटिल बनेको छ। मतदान सकिएपछि मतगणनामा अझै ३–४ घण्टा लाग्ने अनुमान गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिष्पर्धा भइरहेको छ भने १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । मंसिर २८ गते सुरु भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन हुने कार्यतालिका भए पनि मतदान प्रक्रियाको सुस्तताले समग्र महाधिवेशन नै ‘लामो दौड’ जस्तै बनेको छ ।
