ओलीका ‘विश्वास पात्र’ रिमाल ‘रिस्क जोन’ मा
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली पक्षले अधिकांश पदमा प्रभुत्व जमाइरहे पनि उनका निकटस्थ नेता विष्णु रिमाल उपमहासचिव पदमा भने जोखिमपूर्ण अवस्थामा देखिएका छन् । तीन जना उपमहासचिव रहने व्यवस्थामा सातजनाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रारम्भिक तथा पछिल्लो मत परिणामअनुसार रिमाल ‘टप थ्री’ बाहिर चौथो स्थानमा छन् । हालसम्म उनले करिब २३० मत पाएका छन्, जबकि शीर्ष तीनमा रहेका उम्मेदवारसँग उनको मतान्तर उल्लेख्य छ ।
मतगणनामा लेखराज भट्टराई सर्वाधिक मतसहित अग्रस्थानमा छन् । यसअघि सचिव रहेका भट्टराईलाई संस्थापन पक्षले उपमहासचिवमै समेटेको हो । दोस्रो स्थानमा रघुवीर महासेठ छन् भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो स्थानमा छन् । महासेठ र योगेशबीचको मतान्तर निकै सानो (केवल केही मत) रहेकाले प्रतिस्पर्धा थप रोचक बनेको छ । ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल संस्थापन पक्षका भरोसायोग्य मानिन्छन् । उनी पराजित भए अध्यक्ष ओलीका लागि संगठनभित्र राजनीतिक सन्देश जाने विश्लेषण भइरहेको छ ।
यद्यपि मतगणना अझै जारी रहेकाले रिमालले अन्तिम चरणमा मत बढाएर शीर्ष तीनमा स्थान सुरक्षित गर्ने सम्भावना भने कायमै छ । उपमहासचिवको प्रतिस्पर्धामा आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्र गौतम भने स्पष्ट रूपमा पछि परेका छन्। गौतमले त आफ्नो उम्मेदवारी लगभग निस्क्रिय बनाइसकेका छन् । समग्रमा हेर्दा एमाले नेतृत्वमा ओली पक्षको पकड बलियो देखिए पनि उपमहासचिव पदमा विष्णु रिमालको अवस्था संस्थापनका लागि सबैभन्दा संवेदनशील र निर्णायक बनेको छ ।
