प्रतिष्पर्धालाई तिक्तताको रूपमा लिनु हुन्न : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक अभ्यास र आपसी सौहार्दताका साथ अघि बढिरहेको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई नकारात्मक रूपमा लिन नहुने स्पष्ट पार्दै यसलाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा बुझ्न आग्रह गरेका छन्।
महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सबैले खुला र सकारात्मक सहभागिता जनाइरहेको बताए । उनले नेतृत्व चयनका क्रममा देखिने प्रतिस्पर्धालाई तिक्तता वा विभाजनको संकेतका रूपमा व्याख्या गर्नु गलत हुने धारणा राखे । उनका अनुसार विगतमा पार्टी गम्भीर विभाजनको जोखिममा परेका बेला विशेष परिस्थिति थियो, तर अहिले एमाले त्यस्तो अवस्थामा नरहेको र विचार, संगठन तथा लक्ष्यका हिसाबले पार्टी एकताबद्ध रहेको छ ।
पोखरेलले पार्टीभित्र विचार, संगठन र कार्यदिशामा कुनै मतभेद नरहेको जिकिर गर्दै कार्यसम्पादनको शैली, वैचारिक स्पष्टता र संगठनात्मक व्यवस्थापनलाई अझ सुदृढ बनाउने सन्दर्भमा विभिन्न साथीहरू आ–आफ्ना मान्यतासहित अघि बढेको बताए । यस्तो बहस र प्रतिस्पर्धा पार्टीलाई अझ सबल बनाउने माध्यम भएको उनको भनाइ थियो ।
महाधिवेशनमा देखिएको अर्को उल्लेखनीय पक्ष भनेको नेतृत्व प्रतिस्पर्धाका बीच पनि कायम रहेको सौहार्दता हो । मतदान चलिरहेको समयमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल एकसाथ प्रतिनिधिहरूसँग भेट्दै भोट मागिरहेका देखिएका छन्। उनीहरूसँगै उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेललगायत नेताहरू पनि संयुक्त रूपमा मतदातासँग संवादमा जुटिरहेका छन् ।
मतदान प्रक्रिया जारी रहँदा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको छ भने केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् । महाधिवेशनमा कुल २२ सय ६२ जना प्रतिनिधि सहभागी छन् र दिउँसो १२ बजेसम्म करिब चार सय मत खसिसकेको जानकारी दिइएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले पनि यो निर्वाचन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र बलियो र जीवन्त रहेको प्रमाणित गरेको बताएका छन् । समग्रमा, नेतृत्वका लागि कडा प्रतिस्पर्धा भए पनि एमाले महाधिवेशनले सहकार्य, पारदर्शिता र लोकतान्त्रिक संस्कृतिको सन्देश दिइरहेको देखिन्छ, जसले पार्टीलाई आगामी दिनमा अझ संगठित र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
