`

शंकर पोखरेललाई योगेश भट्टराईको फोन : तत्काल सचिवालय बैठक बोलाउनुस्

Nepal One HD ८ पुष २०८२ १३:२७
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आसन्न निर्वाचनको तयारीबारे पार्टीभित्र औपचारिक छलफल नदेखिएको भन्दै महासचिव शंकर पोखरेललाई सचिवालय बैठक तत्काल बोलाउन आग्रह गरेका छन् । भट्टराईले मंगलबार पोखरेललाई फोन गरी प्रतिनिधि सभा निर्वाचन तथा राष्ट्रिय सभा चुनावसँग जोडिएका महत्वपूर्ण कार्यतालिका नजिकिँदै जाँदा पनि पार्टीस्तरबाट स्पष्ट तयारी र निर्देशन नआएकोप्रति ध्यानाकर्षण गराएका हुन् । फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुने, पुस १३–१४ मा समानुपातिक सूची बुझाउनु पर्ने, माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता र माघ ११ मा राष्ट्रिय सभा चुनावको कार्यसूची रहेकाले अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

उनका अनुसार विगतमा यस्ता चुनावी प्रक्रियाअघि सचिवालय वा सम्बन्धित कमिटी बैठक बसेर उम्मेदवार छनोटका मापदण्ड तय गर्ने र तहगत कमिटीबाट नाम माग्ने अभ्यास रहँदै आएको थियो । तर यस पटक अहिलेसम्म त्यस्तो औपचारिक तयारी देखिन नसकेको भन्दै बैठक बसेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । विशेष गरी समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियाका लागि स्पष्ट मापदण्ड बनाएर प्रदेश, जिल्ला तथा तल्ला कमिटीलाई निर्देशन दिनुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

‘समय निकै नजिक आइसकेको छ, बैठक बसेर मापदण्ड बनाइएपछि मात्र व्यवस्थित रूपमा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढ्न सक्छ’, उनले बताएका छन् । एमालेले एकातिर प्रतिनिधि सभाको पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेको छ भने अर्कातिर निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता पनि गराइसकेको छ । यस्तो अवस्थामा पार्टीभित्र चुनावी तयारीलाई औपचारिक र व्यवस्थित बनाउने दबाब बढ्दै गएको देखिन्छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *