`

एमाले नेता भन्छन्–रवि र बालेनको एकताले खासै अर्थ राख्दैन

Nepal One HD १३ पुष २०८२ १४:४५
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच भएको ‘वृहत् एकता’ लाई खासै राजनीतिक महत्व नहुने दाबी गरेका छन् । उनीहरूका अनुसार उक्त सहमतिले न त नेपाली राजनीतिको मूलधारमा ठुलो असर पार्छ, न त जनतामा बलियो प्रभाव छोड्न सक्छ । एमाले नेता मानवीर राईले रवि लामिछाने र बालेन साहबीचको राजनीतिक मिलन वा विमिलन दुवैलाई अर्थहीन ठहर गरे । उनले यी नेताहरूको राजनीति जनआधारित नभएको आरोप लगाउँदै बाह्य प्रभाव र इशारामा चल्ने राजनीति वर्तमान नेपाली परिवेशमा दीर्घकालीन प्रभाव पार्न नसक्ने दाबी गरे ।

राईका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा काठमाडौँका जनतामा ठुलो आशा र अपेक्षा थियो । तर समयक्रममा उनका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको उनले आरोप लगाए । काठमाडौँ महानगरभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उल्लेख गर्दै उनले महानगरको प्रत्यक्ष योगदान देखिन नसकेको बताए ।

उनले विकास निर्माणमा ठोस उपलब्धि नदेखिएको आरोप लगाउँदै बालेन साहले मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई हटाउने जस्ता कार्यबाहेक उल्लेख्य काम नगरेको दाबी गरे । विभिन्न राजनीतिक कार्यक्रमहरूमा जरिवाना घोषणा गरेर ‘स्टन्टबाजी’ मात्र गरिएको उनको टिप्पणी छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र हिंसात्मक घटनामा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको आरोप पनि राईले लगाए । उनका अनुसार यसले प्रमुख साहको विकास, समृद्धि र सार्वजनिक सुरक्षाप्रतिको संवेदनशीलता नदेखाएको संकेत गर्छ । उनले ललितपुर महानगरले दमकल पठाएको उदाहरण दिँदै काठमाडौँ महानगरको भूमिकामाथि प्रश्न उठाए ।

राईले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति हाँस्यास्पद भएको टिप्पणी गरे । २०६४ सालमा माओवादीले पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गरे पनि अन्ततः राष्ट्रपति बन्न नसकेको उदाहरण दिँदै उनले बालेन साह सांसद बन्ने विषयमै शंका व्यक्त गरे । साथै, रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर बाहिरिएको पात्र भएको उल्लेख गर्दै उनीहरू जनतामाझ अपेक्षित सफलता हासिल गर्न नसक्ने दाबी गरे ।

यद्यपि एमालेका अर्का नेता लालबाबु पण्डितले भने राजनीतिक दलहरूबीच एकता हुनु सकारात्मक भएको धारणा राखे । उनले नेपालमा राजनीतिक दलहरूको अत्यधिक संख्या अस्थिरताको कारण बनेको बताउँदै ध्रुवीकरण आवश्यक रहेको जिकिर गरे । हाल देशमा १५२ भन्दा बढी दल रहेको उल्लेख गर्दै पाँच वटा जति प्रमुख दलबीच प्रतिस्पर्धा भए मात्र बहुमतको सरकार, राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने उनको भनाइ छ ।

पण्डितले एमाले कुनै पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पार्दै कोही पार्टी मिल्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको बताए । उनका अनुसार लोकतन्त्रमा अनुशासन, नैतिकता र समर्पण आवश्यक हुन्छ, नभए राजनीति अवसरवादमा सीमित हुन्छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आइतबार बिहान ‘वृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिअनुसार निर्वाचनपछि साह संसदीय दलका नेता बन्नेछन् भने रवि लामिछाने पार्टी सभापतिकै रूपमा रहने छन् । पार्टी संरचना भने पूर्ण रूपमा रास्वपाकै रहने उल्लेख गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *