`

सुनिता–सुहाङसहित एमाले केन्द्रीय कमिटीमा नयाँ पुस्ताको उदय

Nepal One HD ३ पुष २०८२ १५:५६
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा युवा र महिला नेतृत्वको आशालाग्दो उपस्थिति देखिएको छ । १९ पदाधिकारीसहितको केन्द्रीय कमिटीमा ३० वर्षमुनिका दुई युवा महिला—अस्मिता थापा र एलिसा गौतम—सबैभन्दा कम उमेरका केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् ।

खुला महिला क्लस्टरबाट उम्मेदवार बनेकी अस्मिता थापाले सर्वाधिक १,८५९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाइन् । उनी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष समेत हुन् । सोही क्लस्टरबाट एलिसा गौतमले १,८१२ मत ल्याएर विजय हासिल गरिन् । पेशाले इन्जिनियर गौतम युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उदाएकी छन् । यसअघि सोही उमेर समूहका रौनित साह निर्विरोध केन्द्रीय सदस्य बनेका थिए ।

यस्तै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनले १,६६८ मत ल्याएर विजय हासिल गरिन् । डंगोल २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट काठमाडौँको उपमेयरमा निर्वाचित भएकी थिइन् । उनी अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट उपत्यका विशेष कमिटीअन्तर्गत महिला कोटाबाट उम्मेदवार बनेकी थिइन् ।

उता, दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ३७ वर्षीय नेम्वाङले खुला केन्द्रीय सदस्यतर्फ केपी ओली प्यानलबाट जित हासिल गरेका हुन् । उनले १७०१ मत ल्याएका छन् । सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई पछि ओली पक्षले आफ्नो प्यानलमा समेटेको थियो । एमालेको नयाँ केन्द्रीय कमिटीमा युवा, महिला र नयाँ अनुहारको उल्लेख्य सहभागिताले पार्टीभित्र पुस्तान्तरण र समावेशिताको सन्देश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *