बादलको बाचा : मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौं
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याएर छोड्ने प्रतिबद्धता जनाएका छन् । मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले यस्तो बाचा गरेका हुन् । उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरे । उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताए । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा ल्याउन नसकेको भए पनि एक दिन कानुनको कठघरामा उभ्याउने दावी गरे ।
उनले भने, ‘दासढुंगा घटना जुन भयो । दासढुंगा घटना जहाँ मदनआश्रितको निधन भएको थियो । त्यो एउटा सडक दुर्घटना थियो वा सुनियोजित दुर्घटना थियो । एउटा हत्या षड्यन्त्र थियो । त्यो बेला यो प्रश्न उठेको थियो । छानबिनले के साबित गर्यो, निष्कर्ष के निस्कियो भने नेपालविरोधी जनविरोधीहरूको भयङ्कर षड्यन्त्र थियो । षड्यन्त्रअन्तर्गत नै मदन आश्रितको हत्या गरिएको थियो । हामीले ती हत्याराहरू कानुनको कठघरामा ल्याउन सकिरहेका छैनौँ । तर एक दिन हामी मदन आश्रितको हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौँ ।’
उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते नेपालमा भएको घटना साधारण नभएको बताए । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइनु, आगजनी गरिनु, राजनीतिक दलका नेताहरूमाथि आक्रमण र आगजनी हुनुले सामान्य नभएको बताए । उक्त घटना जनविद्रोह, जनक्रान्ति वा अग्रगमन नभएको बताउँदै उक्त घटना प्रतिक्रान्ति र प्रतिगमन भएको बताए ।
उनले भने, ‘त्यसको झण्डै तीन दशक भन्दा बढी समयपछि २०८२ मा आउँदा यो प्रश्न उठेको छ । भाद्र २३ र २४ गते जुन घटना भयो नेपालमा । एउटा असाधारण घटना । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइयो । आगजनी गरियो । राजनीतिक दलका नेताहरूमाथि आक्रमण गरियो, आगजनी गरियो । यो घटना सामान्य घटना होइन । यो असाधारण घटना हो ।’ उनले भने, ‘यहाँको जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो । न्यायपालिकालाई आगो लगाइयो । त्यसकारण आज फेरि एउटा प्रश्न उठेको छ । त्यो जनविद्रोह थियो ? जेनजीको आवरणमा गरिएको घटना हो । वा यो प्रतिगमन थियो, प्रतिक्रान्ति थियो ? यो प्रश्न उठेको छ । भदौ २३ र २४ को घटना जनविद्रोह थिएन । जनक्रान्ति थिएन । अग्रगमन थिएन । प्रतिगमन थियो । प्रतिक्रान्ति थियो ।’ उपाध्यक्ष थापाले अहिले नेपाल भूराजनीतिको सिकार भएको बताए । संसद विघटन र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको बताएका छन् ।
