झापाबाट फर्किदा एयरपोर्टमा हामीलाई सुन तस्करलाई जस्तो व्यवहार गरियो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले योजनाबद्ध रूपमा दुःख दिने र अपमान गर्ने काम गरिरहेको आरोप लगाएका छन् । झापाबाट काठमाडौं फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करझैं व्यवहार गरिएको भन्दै उनले सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो एयरपोर्टमा मलाई सुन तस्करी गर्ने मान्छे जस्तो गरी अनावश्यक चेकजाँच गरेर हैरान पारियो । किन यस्तो व्यवहार भयो भनेर सोध्दा ‘माथिबाट आदेश आएको छ’ भन्ने जवाफ दिइयो ।’
उनका अनुसार यसअघि झापा जाँदा भने त्यस्तो व्यवहार गरिएको थिएन । फर्किदा भने अवस्था बिल्कुलै फरक देखिएको उनको भनाइ थियो । ‘अस्ती जाँदा त राम्रो व्यवहार थियो, फर्किदा आँखा नै जलेझैं भयो’, ओलीले कटाक्ष गर्दै भने, ‘विदेश जाँदा त चिनजान भएका ठाउँमा समेत यस्तो व्यवहार हुँदैन, आफ्नै देशको एयरपोर्टमा हेपिनु पर्यो ।’
अध्यक्ष ओलीले सरकारको नियत नै नेताहरूको अपमान गर्ने दिशामा केन्द्रित रहेको आरोप लगाए । ‘यो सरकार अराजनीतिक र असभ्य बन्दै गएको छ । यस्तो व्यवहार देख्दा हामी सभ्य संसारमै छौँ कि छैनौँ भन्ने लाग्छ’, उनले भने ।
कार्यक्रममा ओलीले वर्तमान राजनीतिक अवस्थाबारे पनि संकेतपूर्ण अभिव्यक्ति दिए । उनले एमाले अब आन्दोलनमा उत्रिने कि निर्वाचन प्रक्रियामै सहभागी हुने भन्ने विषयमा अझै स्पष्ट निर्णयमा नपुगेको बताए । ‘हामी आन्दोलनमा जाने हो कि चुनावमा सामेल हुने हो, त्यो अवस्था अझै तय भइसकेको छैन’, उनले भने ।
सरकारको गतिविधिले आफूहरूलाई निरन्तर दुःख दिने र दबाब सिर्जना गर्ने प्रयास भइरहेको ओलीको दाबी थियो । यस्तो व्यवहारले राजनीतिक वातावरण झनै बिग्रँदै जाने उनको चेतावनी थियो । ओलीको यो अभिव्यक्तिलाई आगामी दिनमा एमालेले लिन सक्ने रणनीतिक कदमका रूपमा पनि राजनीतिक वृत्तमा हेरिएको छ ।
