राष्ट्रियसभामा एमालेको दावी सात सिट, उम्मेदवार टुंगो लगाउने जिम्मा ओलीलाई
काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रियसभा निर्वाचनका लागि सात सिटमा आफ्नो दावी प्रस्तुत गरेको छ । पार्टीको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘हरेक प्रदेशबाट एक जना उम्मेदवार हुने गरी सात सिटमा हामीले दाबी गरेका छौं । तर क्लस्टर अनुसार उम्मेदवार टुंगो लगाउने काम अझै बाँकी छ ।’
उनका अनुसार, पार्टीले राष्ट्रियसभामा जाने रणनीति तय गरिसकेको छ र निर्वाचन माघ ११ गते हुने तयारी भइरहेको छ । यस क्रममा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएको छ । उपमहासचिव भट्टले बताएअनुसार, उम्मेदवारको अन्तिम निर्णय अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ‘कुन प्रदेशबाट महिला उम्मेदवार कसले पाउने भन्ने टुंगो लागिसकेको छैन । यसबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी बाँकी उम्मेदवारको निर्णय अध्यक्षले गर्नेछन्’, उनले सुनाए ।
भट्टले थपे, ‘कसले कति सिट पाउने भन्ने बाँडफाँड टुंगो लागेको छ, तर क्लस्टर अनुसार उम्मेदवारको निर्णय बाँकी छ । कांग्रेसका सभापतिसँग छलफलपछि बाँकी नाम टुंगो लाग्ने छ ।’ राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १८ सिटका लागि एमाले, कांग्रेस र अन्य गठबन्धन पार्टीले मिलेर चुनाव लड्ने सहमति भइसकेको छ । यससँगै पार्टीले आफ्नो प्राथमिक दावी पेश गरी गठबन्धनसहित रणनीतिक तयारी सुरु गरिसकेको छ ।
