एमाले महासचिव पोखरेलले गरे दाङ-२ बाट दर्ता गरे मनोनयन
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उम्मेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको समृद्धिमा सधैँ प्रतिबद्ध रहने उनको भनाई छ । कांग्रेसको जगजगीबीच २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए ।
२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बने । २०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी काँग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने ।
२०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यस पटक जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् । उनीसँग दाङ–२ मा काँग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिष्पर्धामा छन् ।
