एमालेले बनायो ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति, पोखरेल पनि समेटिए
काठमाडौं । नेकपा एमालेले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । सदस्यमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाललाई मस्यौदा समिति सदस्य छन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेशनल भोलिन्टियर्स फोर्स’ लाई टोलटोलसम्म गठन गर्न निर्देशन दिएका छन् । गत मंसिर ५ मा एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा भोलिन्टियर्स फोर्स घोषणा गरेको थियो । जेनजी र युवालाई समेटेर फोर्स गठन गरिएको थियो । मंगलबार एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले फोर्सलाई टोलटोलमा पुर्याउन निर्देशन दिएको एक सचिवालय सदस्यले नेपालखबरलाई बताए ।
‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेशनल युथ भोलिन्टियर्स फोर्स गठन गुर्नपर्छ,’ ओली बैठकमा भनेको कुरा उद्धृत गर्दै ती सदस्यले भने । आगामी फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन सार्न षड्यन्त्र भइरहेको ओलीको भनाइ थियो । त्यसमा सरकार र विदेशी शक्ति लागिरहेको उनको आरोप थियो ।
त्यसका विरुद्ध भोलिन्टियर्स फोर्स परिचालन गरेर चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेमा ओलीले जोड दिए । ‘निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्छ,’ ओलीको थप भनाइ थियो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेको छ । बैठकमा आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भइरहेको छ । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते तोकिएको छ । त्यस्तै, राष्ट्रिय सभाका १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।
यी नेतालाई तोकियो प्रदेश संयोजक
नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । जस अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्ना रहेका छन् । यस्तै संगठन विभागको जिम्मेवारी भानुभक्त ढकालले पाएका छन् ।
