कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी


कोशी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको घरमा प्रदर्शनकारीले मंगलबार तोडफोड गरेका छन् ।
कफ्र्युको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीले भण्डारीको इटहरीस्थित घरको सिसा र अगाडिको गेट तोडेका हुन् ।
ठूलो भीडले घरमा आगजनी गर्न खोजे पनि त्यहाँ अन्य भाडामा बस्ने मानिसहरू रहेको भन्दै केही प्रदर्शनकारीले विरोध गरेपछि आगो लगाउने प्रयास रोकिने प्रहरी स्रोतले जनाएको छ । भीडले ‘गोली हान्नेलाई कारबाही गर’ भन्दै नाराबाजी समेत गरेको थियो ।
यसअघि आन्दोलनकारीले नेकपा एमाले इटहरी पार्टी कार्यालयमा प्रवेश गरी फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए । कार्यालयमा ठूलो संख्यामा पुगेका प्रदर्शनकारीले कुर्सी, टेबल लगायत सामग्रीमा आगो लगाएका थिए । एमाले कार्यालयमा आगजनी गरेपछि भीड मन्त्री भण्डारीको घरतर्फ मोडिएको थियो ।
इटहरीमा जारी कफ्र्युका बीच भएको तोडफोड र आगजनीसँगै अवस्था अझै तनावपूर्ण बनेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलगायत कोशी प्रदेशका सबै जिल्ला तनावपूर्ण अवस्थामा रहेका छन् ।