एमालेमा युवाहरूले सुरु गरे ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान


कैलाली । नेकपा एमालेका युवाहरूले पार्टी सुधार र पुनर्गठनका लागि ‘पार्टी रिफर्म रिभोल्युसन’ अभियान थालेका छन् । ‘पार्टी रिफर्म रिभोल्युसन’ नाम दिइएको उक्त अभियानको उद्देश्य पार्टीभित्रको विकृतिप्रति खबरदारी गर्दै नयाँ गति दिने रहेको संलग्न युवाहरूले जानकारी दिएका छन् । आत्मालोचना बिना रुपान्तरण सम्भव नभएको भन्दै उनीहरूले सुधारको बाटो खोजीका लागि आव्हान गरेका छन् ।
निर्वाचनमा टिकट वितरणदेखि अवसरसम्म योग्य व्यक्तिको तुलनामा पैसा र आफन्तको मोह बढी प्रभाव जमाउने गरेको भन्दै आगामी दिनमा त्यस्तो नहोस् भन्नका लागि यो अभियान सुरू गरिएको अनेरास्ववियु प्रदेश संयोजक रोहित बोगटीले जानकारी दिए । ‘हामीले पार्टीको विरोध वा नेतृत्वको विकल्प खोजेका होइनौँ, तर गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘अहिले कैलालीबाट सुरु गरेका छौँ । हामी सबै जिल्लामा यो अभियानमा युवाहरूलाई जोडिरहेका छौँ ।’
एमालेमा भ्रष्टाचारको अभियोग लागेकाहरू, सामाजिक रूपमा अयोग्य ठहरिएका र नैतिक आचरणविपरीतका क्रियाकलापमा संलग्नलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । ‘लामो समयदेखि एउटै व्यक्तिलाई अवसर दिनु हुँदैन भन्ने हाम्रो माग हो,’ बोगटीले भने, ‘पार्टीको आन्तरिक निर्वाचनदेखि आम निर्वाचनसम्म पनि खर्चिलो भइरहेको छ, त्यसलाई रोक्नु पर्छ ।’
उनले पार्टीविरुद्ध भएको आन्दोलनपछि फेरि उठेका विभिन्न राष्ट्रका घटनाक्रमलाई अध्ययन गर्दै पार्टीलाई क्रियाशील र गतिशील बनाउन तथा पुनः जनताको लोकप्रिय पार्टी बनाउन अध्ययन सामग्री पनि तयार भइरहेको बताए । त्यो सुझावले पनि एमालेलाई अझ बलियो र लोकप्रिय बनाउन मद्दत गर्ने उनको विश्वास छ ।
विमानस्थलदेखि कार्यक्रम स्थलसम्म पार्टी नेताहरूलाई गरिने जयजयकार अन्त्य गरी सादा, सरल र उपयुक्त कार्यक्रम बनाउनुपर्ने अभियानमा लागेको युवाहरू बताउँछन् । ‘पछिल्लो समय पार्टीभित्रका गतिविधिका कारण समाजमा पार्टीप्रति केही वितृष्णा पैदा भएको छ । बहुदलीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छन् । तर, पार्टीभित्रका केही गलत परम्परा अन्त्य गर्न आवश्यक छ,’ उनले भने, ‘अहिले हामीले एमालेभित्र यो अभियान सुरु गरेका छौँ, पछि सबै पार्टीभित्र यस्तो अभियान ल्याउन आवश्यक छ ।’
एमालेका केही नेताहरू, विद्यार्थी नेता तथा युवाहरू सक्रिय रूपमा यो अभियानमा जोडिएका छन् । अहिले उनीहरूले सामाजिक सञ्जालमार्फत नै ‘पार्टी रिफर्म रिभोल्युशन’ अभियान चलाइरहेका छन् । केही समयपछि विभिन्न अन्तरक्रियामार्फत यसलाई अझ व्यापक रूपमा अघि बढाउने तयारी भइरहेको बोगटीले जानकारी दिए ।