जेनजीलाई ओलीको प्रश्न : खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । आज (शनिबार) युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
गन २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेका थिए । त्यसयता सार्वजनिक कार्यक्रममा नदेखिएका ओली आजमात्रै बाहिर निस्किएर अभिव्यक्ति दिएका हुन् ।
‘जेनजी घरैपिच्छे छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनु भएको छ । केहीलाई गुमराहमा राखिएको छ,’ उनले भने, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?’ उनले आवेगमा नआउन पनि जेनजीहरूलाई आग्रह गरे । ‘तपाईंहरू आवेगमा आउने होइन,’ ओलीको सुझाव छ ।