`

हामी बर्बाद हुनेछौँ : नयाँ प्रतिबन्धपछि इरानीहरूको पीडा

Nepal One HD १२ असोज २०८२ २०:१०
विश्व

संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि इरानी नागरिकहरू तनावमा परेका छन् । मूल्य तीव्र रूपमा बढ्दै गएको छ भने रियाल नयाँ तल्लो स्तरमा पुगेको छ ।

३३ वर्षीया ग्राफिक डिजाइनर हेलियाले प्रतिबन्धको असर तत्काल महसुस गर्नुभयो । उहाँको नयाँ घरका लागि लिन खोजिएको फर्निचरको मूल्य तीन दिनमै ह्वात्तै बढ्यो ।“डलर बढ्नुअघि नै मूल्य चुलिएको छ । मासुबाट ट्याक्सीसम्म जीवन झन् गाह्रो बनेको छ”, उहाँले एएफपीलाई भन्नुभयो ।

इरान सरकारले प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै निन्दा गरेको छ । सन् २०१५ को आणविक सम्झौताअन्तर्गत बेलायत, फ्रान्स र जर्मनीले सक्रिय गरेको ‘स्न्यापब्याक’ संयन्त्रपछि इरानको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै कारोबारमा रोक लगाइएको हो ।

तेहरानको विदेश मन्त्रालयले अन्य देशहरूलाई आफ्नो राष्ट्रिय हितका लागि प्रतिबन्ध लागू नगर्न आग्रह गरेको छ । तर राजधानीभरि नै निराशा छाएको छ ।

५६ वर्षीया शोधकर्ता नासिम कम्पनीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामी बर्बाद हुनेछौँ । सामान्य मानिसहरू अहिले जस्तै जीवन धान्न सक्दैनन् ।”१९ वर्षीय विद्यार्थी मेहरसादले प्रतिबन्धपछि इरान ‘आर्थिक र राजनीतिक रूपमा अलग–थलग’ हुने टिप्पणी गर्नुभयो ।

– राहत दिनु पर्थ्यो –

राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले सम्पूर्ण समृद्ध युरेनियम भण्डार हस्तान्तरणको बदलामा छोटो राहतको प्रस्ताव गरे पनि आफूहरूले स्वीकार नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो प्रस्ताव ‘अस्वीकार्य’ थियो ।

तर ७० वर्षका लेखक नाभिद मोरादीले सरकारको दृष्टिकोणप्रति असहमति जनाउँदै भन्नुभयो, “वार्ता जारी राख्नुपर्थ्यो । कहिलेकाहीँ केही राहत दिएर बदलामा केही लिन सकिन्थ्यो । तर यसरी जनताले मात्र दुःख पाउनुपरेको छ ।”

मुद्राको तीव्र गिरावटसँगै मूल्यवृद्धि भएको छ । कालो बजारमा रियाल एक अमेरिकी डलरको बदलामा ११ लाख २० हजारमा झरेको थियो, पछि थोरै सुधार भएर ११ लाखमा पुगेको मुद्रा–ट्र्याकिङ वेबसाइटहरूले जनाएका छन् ।

मोरादीका अनुसार एक किलो मासु अहिले १० डलर बराबर (करिब एक करोड रियाल) पुगेको छ, जुन न्यूनतम पारिश्रमिकमा बाँच्नेहरूको लागि ठूलो चुनौती हो । “एउटा परिवारले कसरी बाँच्न सक्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

– कठिनाइ र आशा –

१९ वर्षीय विद्यार्थी अमिर–अब्बासले आफ्नो रुचि सङ्गीतलाई पछ्याउनै नसक्ने अवस्था आएको बताउनुभयो । “मैले गिटार ३० लाख रियालमा किनेको थिएँ, अहिले तीन अर्ब रियाल भएको छ । आयात बन्द भएकाले औषधि पनि महँगो हुँदै गएको छ”, उहाँले दुःख पोख्नुभयो ।

विदेशबाट फर्किएका एक अनुसन्धानकर्ताले भने, “मूल्य, डलर, सुन–सबै बढ्नेछन् । सामान्य जीवन सम्भव हुनेछैन । अपराध र बालश्रम बढ्न सक्छ । म फेरि देश छोड्ने सोचमै छु ।”

यद्यपि कठिनाइका बीच पनि केही आशा बाँकी छ । हेलियाले मुस्कुराउँदै भन्नुभयो, “हामी एक डलर बराबर एक लाख रियाल हुँदा पनि बाँचेका थियौँ । अहिले यो ११ लाख भए पनि हामी अझै उभिएका छौँ । हामी आशामा बाँचिरहेका छौँ । अनि त्यो आशा अझै बाँकी छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *