बालेनको योजनामा आफूसहित ओली र रमेश लेखकलाई पक्राउ गर्न षड्यन्त्र गरिँदै छ : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको योजनामा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ आफूलाई पक्राउ गराउन हिंडेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइएको जिकिर गरे ।
उनले भने, ‘हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन् । प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन् ।’ सुदनलाई विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको उनको दाबी छ । उनले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरेका ।
उनले भदौ २३ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा सहयोग रहने बताउँदै अन्य घटनको पनि छानबिन माग गरे। ‘२३ गते मृत्यु भएको सन्दर्भमा जुन छानबिन समिति बनेको छ, त्यसले निष्पक्ष छानबिन गरोस्। निष्पक्ष छानबिन गर्नुहोस्, दोषी जो हुन्छ, त्यसलाई कारबाही गर्नुहोस्। हाम्रो पूर्ण समर्थन रहन्छ,’ बस्नेतले भने, ‘तर, आन्दोलनको नाममा सेनाको ज्याकेट लगाएर सार्फसुटर प्रयोग भएको छ कि छैन? त्यसको पनि छानबिन प्रयोग होस्। रवि लामिछानेलाई कारागारबाट मुक्त गराउने गएकाहरुको पनि छानबिन होस्।’
‘देशमा केही भएन भन्ने भाष्य विश्वप्रकाशले सुरू गरे, प्रचण्डले घ्यू थपे’
एमालेका नेता महेश बस्नेतले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने भाष्य नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुरू गरेको आरोप लगाएका छन् । यो भाष्य विश्वप्रकाशले सुरू गरेर माओवादीका अध्यक्ष प्रचण्डले त्यसमा घ्यू थपेको जिकिर गरे ।
उनले भने, ‘पछिल्लो समय रवि लामिछानेहरू ‘नो नट अगेन’ को नारा लिएर आउनु भयो । अरू शक्तिहरू पनि आए, स्वभाविक ढङ्गले मुलुक अघि बढेको भए पनि भ्रमको खेती सिर्जना गरियो ।’ उनले २३ र २४ गतेको जेनजी आन्दोलन हाइज्याक भएको पनि दाबी समेत गरेका छन् ।