`

गृहमन्त्री ‘प्रतिशोध’ का मन्त्री बनेका : महेश बर्तौला

Nepal One HD २२ असोज २०८२ १३:३६
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल ‘प्रतिशोध’ को गृहमन्त्री बनेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारका गृहमन्त्री प्रतिशोध, झूट, भ्रम र बेइमानका सेवक भएको आरोप लगाएका हुन् । गृहमन्त्रीमाथि व्यक्तिगत र संस्थागतस्तरमा दबाब, डर र आतंक सिर्जना गर्ने योजनामा केहि व्यक्तिहरु सीधै संलग्न रहेको दाबी गर्दै बर्तौलाले सोहीका आधारमा गृहमन्त्रीको अभिव्यक्तिहरु आइरहेको बताएका हुन् ।

नेता बर्तौलाले गृहमन्त्री आफैं केही समूह र व्यक्तिलाई प्रयोग गरी सार्वजनिक शान्ति भङ्ग गर्ने, अनधिकृत र अराजक गतिविधि सञ्चालन गराउन उक्साउँदै आएको आरोप लगाए । राज्यका महत्वपूर्ण अंगका पदाधिकारी तथा सुरक्षा निकायका राष्ट्र सेवकहरूलाई धम्क्याउने र तिनको मनोबल तल झार्ने प्रयत्न भइरहेको नेता बर्तौलाको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता स्वतन्त्र संस्थाका नेतृत्व हटाउन दबाब सिर्जना गराउने, मिडिया ट्रायल र प्रायोजित भ्रम फैलाउने सामाजिक सञ्जालमा अभियान सञ्चालन गराउने क्रम चलिरहेको उनको दाबी छ ।

पूर्व प्रधानमन्त्री तथा केही मन्त्रीविरुद्ध झुठो तथा षड्यन्त्रपरक मुद्दा दर्ता गराउने, जेलभित्रका घटनाहरूको छानबिन प्रक्रिया प्रभावित पार्ने लगायतका कृत्यमा समेत गृहमन्त्रीको भूमिका रहेको नेता बर्तौलाको आरोप छ । उनले भनेका छन्, ‘देश र जनताको जिउधनको सुरक्षा जिम्मेवारी लिएर बसेको गृहमन्त्री आफैले भय, त्रास र प्रतिशोधको साम्राज्य खडा गरी शासन चलाउने सोचमा रहेको देखिन्छ ।’ उनले यस्ता क्रियाकलापले देशका लागि दीर्घकालीन नकारात्मक परिणाम ल्याउने चेतावनी समेत दिएका छन् । उनले लोकतान्त्रिक मूल्य र न्याय प्रक्रिया र स्वतन्त्रताको रक्षा गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *