अखिलको जाहेरी बुझिएन, युवराज सफलको हेर्दैछौँ : काठमाडौं प्रहरी


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरी बुझ्न नसकिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । अखिलका पूर्व अध्यक्ष समिक बडाल, महासचिव दीपक धामी लगायत हिजो परिसरमै पुगेर जाहेरी बुझाएको थियो । उक्त जाहेरी दर्ता नगरी प्रहरीले २४ घण्टापछि जवाफ दिने बताएको थियो ।
अखिलले बुझाएको जाहेरी केरमेट भएका कारण बुझ्न असहज भएको परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले जनाएका छन् । ‘केरमेट भएका कारण प्रष्ट हुन सकेनौं । केरमेट भएकाले हामीले त्यसलाई अघि बढाएनौं,’ भट्टराईले भने । अखिलले तीन वटा विषयलाई लिएर जाहेरी दिएको थियो । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर अखिलले जाहेरी दिएको बडालले बताएका छन् । उनका अनुसार, अहिले अखिलका केही विद्यार्थी नेताहरू फेरि परिसरमा पुगेका छन्।
‘प्रहरीले नबुझेको बताएपछि अहिले हाम्रा केही नेताहरू छलफलका लागि परिसर पुगेका छन्,’ बडालले भने । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो । उक्त जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवार जाहेरी दिन पुगेका थिए ।
भट्टराईका अनुसार बालेन र सुधनविरुद्ध अर्को जाहेरी पनि आएको छ, जुन चर्चित अभियन्ता युवराज सफलले दिएका हुन् । उक्त जाहेरी पनि दर्ता भएको छैन । जेठ २३ र २४ को घटनासँग सम्वन्धित सबै जाहेरीहरु जाँचबुझ आयोगलाई पठाइने प्रहरीले बताएको छ । ‘अखिलको जाहेरी स्पष्ट नभएकाले हामीले त्यसमा केही गरेका छैनौं । अर्को सच्याएर ल्याउनु भयो भने आयोगमा पठाइदिन्छौं । युवराज सफलको अर्को जाहेरी आएको छ । त्यो लिएर हामी हेर्दैछौं,’ उनले भने ।