गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ : महेश बर्तौला


काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरेर कारबाही गरिनु पर्ने बताएका छन् । आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उत्प्रेरक रहेको दाबी गर्दै उनले गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्ने बताएका हुन् ।
‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिसत रहेको हुनु पर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन,’ बर्तौलाले फेसबुकमा लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेज छानीछानी नष्ट गर्ने, ब्यक्तिका घर, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् ।’
बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकी लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार समेत भएको आरोप लगाएका छन् । ‘शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथ ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाण रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए,’ बर्तौलाले भनेका छन्, जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्य बिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडी बढाइनु पर्छ ।’