षड्यन्त्रविरुद्ध सडकमा उत्रिन तयार रहनू : भानुभक्त ढकाल


काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले पछिल्लो समय भएको षड्यन्त्रको प्रतिवाद गर्नको लागि पार्टीपंक्तिलाई आह्वान गरेका छन् । भक्तपुरमा आज (बिहीबार) आयोजित कार्यक्रममा बोल्दै व्यवस्था र राष्ट्रियतामाथि भइरहेको षड्यन्त्रप्रति जनतालाई सचेत गराउन अब ढिला गर्न नहुने बताए ।
उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा भएको कुप्रति जनतालाई सचेत गराउँदै हामीले खबरदारी गर्न अब विलम्ब गर्नु हुँदैन । षड्यन्त्र जारी रह्यो भने त्यसका निम्ति प्रतिवाद गर्नको निम्ति एमालेसँग आबद्ध जनवर्गीय संगठन, जनप्रतिनिधि र पार्टीका लाखौँ सदस्य पनि सडकमा उत्रिन तयार हुनुपर्छ ।’ उनले जेनजी आन्दोलनको लागि आगजनी र तोडफोडमा संलग्नहरूलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिएपछि पनि तोडफोड र आगजनी भएको भन्दै केपी ओलीविरुद्ध भ्रम फैलाइएको जिकिर गरे ।
‘एमालेलाई एकता चाहिएको छ, पुनर्गठनको बहस असान्दर्भिक’
एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् । ढकालले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निर्क्याैल हुने जिकिर गरे ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ । यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर, अहिले पार्टीभित्र एकताको खाँचो छ’, ढकालले भने । पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उनको भनाइ थियो । भदौ २०–२२ को दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेन–जी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने ढकालले बताए ।