एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के–के छन् एजेण्डा ?


काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आज (बुधबार) देखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो । यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो । बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ ।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए । बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुनेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए ।
उनले भने, ‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको । प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको । शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिने छन् ।’ एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनः स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताएका छन् ।
एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ ।जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टीभित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ ।