`

एमाले सधैं सरकारबाट हट्यो भनेर भ्रममा नपरे हुन्छ : ओली

Nepal One HD २९ असोज २०८२ १२:५६
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको भन्दै सरकारमा रहँदा एमालेले देश र जनताको हितमा काम गरेको दाबी गरे ।

‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने, ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एकछिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’ सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै ओलीले सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।

‘पार्टीभित्र एकमना एकता कहिल्यै थिएन’
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकमना एकताको स्थिति कहिल्यै नरहेको बताएका छन् । केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला सधैं इष्र्या, डाहा, खुट्टा तान्ने स्थिति रहेको बताए । ‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन,’ उनले भने, ‘इष्र्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो । मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो ।’

जेन–जीको दुई दिने आन्दोलनबाट यसपटक प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे । आफू नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी काम गर्दै गएपछि सरकार ढाल्ने काम भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *