ओलीको प्रश्न : हाटहुट, लाटलुटबीच बनाइएको सरकार हो, कहाँ भयो क्रान्ति ?


काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार क्रान्तिबाट नआएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहाँ भयो क्रान्ति भनेर प्रश्न समेत गरेका छन्। ‘क्रान्तिबाट बनेको सरकार ? कहाँ भयो क्रान्ति ?,’ आफैं जवाफ दिँदै ओलीले भने, ‘प्रतिक्रान्ति हो यो । देशलाई पछाडि धकेलेको छ । शान्तिबाट हिंसा, अराजकतामा धकेलेको छ । कानुुनी राजबाट आवेश उत्तेजनातर्फ प्रतिगमन भएको छ ।’
जेनजी आन्दोलनतर्फ लक्षित गर्दै उनले यसले समाजमा त्रासको मनोविज्ञान बनाएको समेत उल्लेख गरेका छन् । ‘सिङ्गै देश त्रसित मनोविज्ञानमा भएको अवस्था छ, आज हरेक पसले मेरो पसल लुटिन्छ कि भनेर डराउँछ,’ ओलीले भने, ‘पहिले पहिले महिलाहरू हरेकको गलामा सिक्री देखिन्थ्यो, अहिले सिक्री देख्न मुस्किल छ । किनभने कतिखेर कसले सिक्री मात्रै लाने हो कि आफूलाई पनि गन्ट्यामुन्ट्याङ पार्ने हो ठेगान छैन ।’
उनले यो सरकारलाई १ प्रतिशले पनि सर्मथन नगरेको जिकिर गरे । ‘यो एक प्रतिशतले पनि समर्थन नगरेको सरकार हो,’ ओलीले भने, ‘एक प्रतिशत भनेको तीन लाख हुन्छ । तीन लाख मान्छेले सरकार बनाएको हो र ?’ आम जनतालाई त्रसित बनाएर सरकार बनाइएको उनको आरोप छ । ‘आम जनता सहभागी भएर होइन, आम जनतालाई त्रसित बनाएर, तिनका घरमा आगो लगाएर हाटहुट, लाटलुटका बीचमा बनाइएको सरकार हो,’ ओलीको तर्क छ ।