यो सरकार असंवैधानिक, सुशीला कार्कीको नियुक्ति तमासा : ओली


काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई ‘तमासा’ भन्दै टिप्पणी गरेका छन् । आइतबार सम्पादकहरूसँग ओलीले भने, ‘यो सरकार असंवैधानिक छ । यो सरकारले चुनाव गराउन चाहँदैन । त्यस्तो हुन्छ डेमोक्रेसी ? त्यसरी छानिन्छ प्रधानमन्त्री । त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन ।’
उनले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीश मानवअधिकार आयोगबाहेक अन्य ठाउँमा नियुक्त हुनै नमिल्ने जिकीर गरेका छन् । पूर्व प्रधानन्यायधीश कार्की प्रधानमन्त्री बन्नु असंवैधानिक भएको ओलीको तर्क छ ।
‘पूर्व प्रधानन्यायाधीश ज्यूलाई संविधानको धारा १३२, १ २ त थाहा होला नि त ? पूर्व प्रधानन्यायाधीशले मानवअधिकार बाहेक अरु कामको जिम्मा लिन मिल्दैन । कुनै राजनीतिक नियुक्ति लिन मिल्दैन । मन्त्री खान मिल्दैन’ उनले भने, ‘पहिलो गासमै असंवैधानिक क्रियाकलाप भएको छ । नियुक्तिको प्रक्रिया, नियुक्त हुने व्यक्ति नै असंवैधानिक छ । अनि मैले के संवैधानिकै भएको छ भन्नु पर्ने ? डराएर झुट बोल्नु पर्ने ? असत्य बोल्न घुँडा टेक्नु पर्ने ?’ उनले आफूहरूलाई थुन्ने प्रयासमा सरकार रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आफूलगायत कतिपय नेतालाई सरकारले थुन्ने तयारी गरेको उनले बताएका छन् ।