अहिलेको सरकार एनजीओ र आइएनजीओको : शंकर पोखरेल (भिडिओ)
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेनजी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको आरोप लगाएका छन् । प्रेस चौतारी दाङले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे ।
‘जेनजी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन । कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम हो’, उनले भने । जेनजी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्रविरोधी स्वार्थी तत्वले घुसपैठ गरेको बताए । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आईएनजीओको भएको दाबी गरे ।
सरकारले गैरसरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैरसरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।
