अहिलेको सरकारले अपराध र आन्दोलनलाई छुट्टयाउनै सकेन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा मोबाइलमा अत्यधिक निर्भर युवाहरूलाई केही गलत तत्वले दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको युवा सक्रियता स्वतःस्फूर्त नभएको दाबी गरे ।
‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ पोखरेलले भने, ‘सूचना प्रविधिप्रतिको लत र आशक्तिको स्तर कहाँ पुगेको छ भन्ने कुरा पछिल्ला घटनाले देखाएका छन् ।’ उनका अनुसार जेनजी पुस्ताले अघि सारेका माग अनुचित थिएनन्, तर ती मागहरू स्पष्ट रूपमा सरकारसमक्ष प्रस्तुत हुन नसक्दा आन्दोलन दिशाहीन भयो । ‘सरकारले माग नसुनेको होइन, मागहरू प्रस्तुत नै भएनन्,’ उनले भने, ‘को कसले नेतृत्व ग¥यो भन्ने पनि पूर्ववर्ती सरकारले थाहा पाएन ।’
पोखरेलले सरकारले युवाका प्रश्नप्रति चासो नदेखाएको भन्ने आरोपहरूलाई असत्य ठहर गर्दै, परिस्थितिलाई स्वार्थअनुसार तोडमोड गर्ने प्रयास भएको दाबी गरे । ‘सामान्य विषयलाई पनि सरकारले उपेक्षा ग¥यो भन्ने भ्रम फैलाइयो,’ उनले भने, ‘घटनालाई आफ्नो एजेण्डा अघि बढाउने माध्यम बनाइएको देखिन्छ ।’ महासचिव पोखरेलले अहिलेको सरकार भदौ २३ र २४ गतेको घटनामा अपराध र आन्दोलनलाई छुट्टयाउन पूर्णतः असफल भएको बताएका छन् ।
उनले अहिले अपराध र आन्दोलनलाई छ्यासमिस पार्ने प्रयत्न भइरहेको बताएका छन् । ‘राज्यका प्रतिष्ठाका केन्द्रहरूमा आगजनी र लुटपाट गर्ने कुरा, यस प्रकारका कामहरू अहिलेका नवयुवा पुस्ताले गर्न सक्छ कि सक्दैन, उनीहरूको आन्दोलनको विषय थियो कि थिएन ? भन्ने कोणबाट हेर्ने हो भने उनीहरूले आन्दोलनको विषय थिएन । उनीहरूले त्यस्तो काम गर्न सक्दैनन् भन्ने हामी ठान्छौं । त्यसकारण जसले त्यो काम गरे तिनीहरू राष्ट्रका अपराधीहरू हुन् भन्ने कुरा बुझ्नु पर्छ । जसले सुनियोजित हिसाबले ती काममा प्रयोग गर्ने योजना बनाए । तिनीहरूको पहिचान गरेर कारबाही गर्नुपर्छ । हाम्रो पार्टीको मान्यता रहँदै आएको छ,’ उनले भने, ‘तर अहिलेको सरकार अपराध र आन्दोलनलाई छुट्टयाउने कुरामा पूर्णत असफल छ ।’ त्यसकारण एमालेले बारम्बार आन्दोलनलाई सम्बोधन गर्न सकिने तर अपराधलाई दण्डित गर्नुपर्ने बताउँदै आइरहेको जानकारी दिए । ‘आन्दोलन र अपराध छ्यासमिस पार्ने कुरा उचित होइन,’ उनले भने ।
