ओलीको प्रश्न : त्यसबेला शुकरात त भागेनन्, आज केपी ओली भाग्छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका छन् । बुद्धिजीवि वर्गको अन्तर संवादमा बोल्दै सुशीला कार्की नेतृत्वको सरकारलाई देश छाडेर आफू कतै नभाग्ने बताए ।
उनले भने, ‘यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ? मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि । सुनेको मात्रै है, कुनै पत्र दिएको छैन ।’
आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने समेत उनले बताएका छन् । उनले थपे, ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आ–आफैं मात्रै लड्छौँ ? पार्टीहरू लड्छन् चुनाव । यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन् ।’ उनले प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर हरेक नेपाली आन्दोलित हुनुपर्ने समेत बताए ।
