जेनजीलाई रामकुमारीको अपिल : एमालेमा आउनुस्, चारै ढोका खुला छन्
काठमाडौं । नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पुस्ता–विशेषतः जेनजीलाई एमालेमा आउन अपिल गरेकी छिन् । एक समय सडकमा राज्य र दलप्रति प्रश्न उब्ज्याउने आवाज रहेकी झाँक्रीले अब त्यही पुस्तालाई ‘व्यवस्थित राजनीतिक यात्राको’ आग्रह गर्दै खुला निम्तो दिएकी हुन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले भनिन्, ‘तपाईंहरूको विद्रोह र आक्रोश जायज छन् । तर जसरी त्यस आक्रोशलाई विभिन्न शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका छन्, अब त्यसबारे जेनजी पुस्ताले गम्भीर सोच्नुपर्छ । तपाईंहरू आफ्नै पार्टी खोल्न चाहनु हुन्छ भने हाम्रो शुभकामना छ, तर खोल्न चाहनु हुन्न भने हामी जस्तै एमालेमै आउनुस् । हरेक जेनजीका लागि एमालेका चारै ढोका खुला छन् ।’
झाँक्रीका अनुसार अहिलेको राजनीतिक द्वन्द्व ‘एमाले बनाम जेनजी आन्दोलन’ मा रूपान्तरित भएको छ । उनले भनिन्, ‘जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो, सामान्य पनि थियो । तर त्यसमा रोटी सेक्न खोज्ने धेरै तत्वहरू मिसिए । अहिले फर्केर हेर्दा त्यो आन्दोलनको स्टेकहोल्डर को हो भन्नेमा प्रतिस्पर्धा चलेको छ । समाजमा ध्रुवीकरण–‘एमाले बनाम जेनजी आन्दोलन’ को रुपमा देखिन्छ ।’
पूर्व समाजवादी नेतृ झाँक्रीले आफ्नो विगतका गल्तीहरू स्वीकार गर्दै आलोचकहरूलाई पनि जवाफ दिइन् । ‘मलाई थाहा छ, तपाईंहरूले विगत र वर्तमान हेरेर मलाई ट्रोल गर्नु हुन्छ होला । त्यो मलाई स्वीकार्य छ । हामी वास्तविकताबाट टाढा हुन सक्दैनौं । यसैले मैले कुनै शर्त बिना नै एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा सहभागी भएकी छु ।’
उनको भनाइमा अहिलेको राजनीतिक यथार्थ के हो भने, जनताको रक्षक एमाले बाहेक अरू कुनै दल हुनै सक्दैन । ‘एकताबद्ध भएर जनता माझ गयौं भने जनताले विश्वास गर्छन् । एमाले मात्रै जनताको वास्तविक रक्षक हो’, उनले दृढतापूर्वक भनिन् । झाँक्रीको यो खुला सन्देशसँगै एमालेभित्र अब युवा पुस्ता–विशेष गरी डिजिटल आन्दोलनबाट आएका जेनजी कार्यकर्ताहरूलाई भित्र्याउने नयाँ रणनीति देखिएको विश्लेषकहरूको भनाइ छ ।
