`

सरकारलाई ओलीको प्रश्न : दल र नेताहरुलाई निषेध गरेर कस्तो चुनाव गर्न खोजेको ?

Nepal One HD २८ कार्तिक २०८२ ११:१६
नेकपा एमाले

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेलिरहेको ‘चुनाव नाटक’ को संज्ञा दिंदै अहिले लोकतन्त्रकै उपहास गरिएको आरोप लगाएका छन् । भदौ २३–२४ को घटनालाई ‘विध्वंसको जन्मस्थान’ भन्दै उनले त्यसकै आधारमा बनेको सरकारले लोकतान्त्रिक मूल्य र प्रक्रियाको भाषण गर्नु नै विसंगति भएको टिप्पणी गरेका छन् ।

झापाका अगुवा कार्यकर्ताहरूसँग बिहीबार साँझ भर्चुअल संवाद गर्दै ओलीले अहिलेको सरकारले नेताहरूलाई ठाउँ–ठाउँमा रोक्ने, जिल्लामा प्रवेश निषेध गर्ने, प्रचार–प्रसार रोक्ने र दल–नेतामाथि अनावश्यक अवरोध खडा गर्ने कार्यलाई ‘चुनावको पूर्व तयारी होइन, विपक्षी दमनको पूर्वाभ्यास’ भएको बताए ।

उनको प्रश्न थियो, ‘राजनीतिक दललाई घुम्न नदिने, नेतालाई निर्वाचन क्षेत्र छिर्न नदिने, मतदातासँग भेट गर्न रोक्ने—यस्तै तालमा कस्तो चुनाव गराउन लागेको हो यो सरकार ?’ ओलीले झापामा एमालेमाथि ‘जेन–जी’ नाममा भएको आक्रमणलाई नियोजित राजनीतिक द्वेषको उपज भनेका छन् । राष्ट्रहित, विकास र समृद्धिको एजेण्डामा एमाले अगाडि बढिरहेको देखेर विप्लवी प्रवृत्तिले पार्टीलाई निस्तेज पार्न खोजेको उनको भनाइ छ ।

पार्टीका कार्यकर्ताहरूलाई ‘अराजकता रोक्न अब हरेक टोलमा टोल सुरक्षा समिति गठन’ गर्न निर्देशन दिँदै ओलीले समुदायमै सुरक्षा प्रत्याभूति निर्माण गर्न एमाले सक्षम रहेको दाबी गरे । यी समितिहरूले आपराधिक गतिविधि नियन्त्रण, संलग्न व्यक्तिलाई प्रहरी समक्ष बुझाउने र स्थानीय तहमा सुरक्षाको वातावरण बनाउने जिम्मेवारी पाउने उनले स्पष्ट पारे ।

अध्यक्ष ओलीले गैरसंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाका लागि ‘देशव्यापी दबाब’ सिर्जना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना नै लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा फर्काउने एक मात्र उपाय भएको बताउँदै उनले कात्तिक २९ गते झापामा ‘भव्य जागरण सभा’ गर्ने तयारी थाल्न निर्देशन दिएका छन् । बैठकमा झापा अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३-२४ को तोडफोड, आगजनी र त्यसपछिको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *