मैदानले प्रमाणित गर्यो, एमाले बाहेक विकल्प छैन : शंकर पोखरेल
नेपालगञ्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले जटिल मोडमा उभिएको र यस्तो परिस्थितिबाट पार लगाउनसक्ने शक्ति केवल एमाले मात्रै भएको जिकिर गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सुरु गरिएको जनपरिचालन अभियानअन्तर्गत नेपालगञ्जमा आयोजित विशाल सभामा बोल्दै उनले हाल देखिएको राजनीतिक तथा प्रशासनिक संकट कुनै आकस्मिक घटना नभई योजनाबद्ध हमला भएको आरोप लगाए ।
भदौ २३ र २४ मा देशका विभिन्न सरकारी संरचनामा भएको सामूहिक तोडफोड साधारण असन्तोष नभई राज्यको मेरुदण्ड कमजोर पार्ने उद्देश्यले गरिएको गम्भीर अपराध भएको पोखरेलको भनाइ थियो । उनले भने, ‘सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगो लगाइयो । यसले कसको नियत कस्तो हो भन्ने स्पष्ट हुन्छ ।’
पोखरेलले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई लक्षित गर्दै आगजनीको स्वरूप नै ‘सुसूचित संलग्नता’ तर्फ इङ्गित गर्ने दाबी गरे । उनले भने, ‘देशभर स्थानीय तहहरू जलाइए, वडा कार्यालय नष्ट गरिए । तर काठमाडौंमा के भयो ? शितलनिवास जल्छ, छेउको निर्मल निवासमा एक थोप्ला पनि पर्छैन । यसले धेरै कुरा आफै बोल्छ ।’
संघर्ष, जेल र भूमिगत जीवन एमालेका कार्यकर्ताले भोगेको स्मरण गराउँदै उनले पार्टीलाई डराउने, भाँच्ने वा समाप्त पार्ने रणनीति विफल भएको दाबी गरे । उनका अनुसार पार्टी कार्यालय जलाएर, धुवाँ उठाएर एमाले सकिन्छ भन्ने बुझाइ षडयन्त्रकारीहरूको भ्रम मात्र हो । सभामा उपस्थित कार्यकर्तामाथि उनले चुनौतीपूर्ण शैलीमा प्रश्न गरे, ‘आज मैदानमै हेर्नुस्, एमालेभन्दा ठूला वा सक्षम शक्ति कतै देखिन्छ ?’ उनले कार्यकर्तालाई उच्च मनोबलमा संगठन सुदृढ बनाउँदै अघि बढ्न आह्वान गरे ।
